म्यान्मारमा सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन् । उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ। प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन् ।

विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन् ।

सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए। तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो । म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन् ।

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ ।

शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको नेशनल लीग फर डिमोक्रसी (एनएलडी) को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ। आङ सान सूकीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो । उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *