इङ्ल्याण्डविरुद्वको सिरिज जित्दै भारत टेस्ट च्याम्पियनसिपको फाइनल

प्रज्जवल थापा । इङ्ल्याण्डविरुद्वको चार खेलको टेस्ट सिरिज जित्दै भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम टेस्ट खेलमा भारतले इनिङ्स र २५ रनको जित निकाल्दै चार खेलको सिरिज ३-१ ले आफ्नो पोल्टामा पारेको हो ।

जितसँगै भारत च्याम्पियनसिपको फाइनलमा पुगेको छ । अब भारतले उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । दोस्रो इनिङ्समा इङ्ल्याण्ड १३५ रनमा अलआउट भएपछि भारत विजयी भएको हो । पहिलो इनिङ्समा १ सय ६० रनले पछि परेको इङ्ल्याण्डको ब्याटिङ भारतको स्पिनसामु फेरिपनि कमजोर देखियो । इङ्ल्याण्डको लागि डानियल लरेन्सले ५० र कप्तान जोए रुटले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न अक्सर पेटेल र रविचन्द्रन अश्विनले ५/५ विकेट लिए ।

भारतले पहिलो इनिङ्समा ११४.४ ओभरमा अलआउट हुँदै ३६५ रन जोडेको थियो । भारतको लागि ऋषभ पन्तले शतक सहित १ सय १ रन जोड्दा वासिङ्टन सुन्दरले ९६ रनको शानदार इनिङ्स खेले । यस्तै रोहित शर्माले ४९, अक्सर पटेलले ४३, रहाणेले २७ रनको योगदान गरेपछि भारतले खेलमा १ सय ६० रनको अग्रता लिएको थियो ।

इङ्ल्याण्डको लागि बेन स्टोक्सले सार्वधिक ४ विकेट लिँदा जेम्स एन्डरसनले ३ र ज्याक लिचले एक विकेट लिए ।

यसअघि नरेन्द्र मोदि रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्डले ७५.५ ओभरमा अलआउट हुँदै २०५ रन जोडेको थियो । इङ्ल्याण्डको बेन स्टोक्सले ५५ रन जोड्दा डानियल लरेन्सले ४६ रन जोडे । यस्तै ब्रेस्ट्रोले २८, ओली पोपले २९ र जेम्स एन्डरसनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

भारतको लागि अक्सर पटेलले ४ विकेट लिदा अश्विनले ३, सिराजले २ र सुन्दरले एक विकेट लिए । अब दुई टोलीबिचको टि-२० सिरिज मार्च १२ बाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *