हङ्कङका लोकतान्त्रिक संस्थामाथि आक्रमण गरेको भन्दै अमेरिकाद्वारा चीनको विरोध

हङ्कङका लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण जारी राखेको भन्दै संयुक्त राज्य अमेरिकाले चीनको निन्दा गरेको छ । बेइजिङले हङ्कङमा निर्वाचन प्रणाली बदल्ने योजनाहरू घोषणा गरेपछि अमेरिकाले चीनको आलोचना गरेको हो । चीनको नेशनल पिपुल्स कङ्ग्रेस एनपीसीले शुक्रवार त्यससम्बन्धी योजनाहरू सार्वजनिक गरेको थियो ।

एउटा प्रस्तावअनुसार हङ्कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने हुन्छ । चीनले हङ्कङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको छ ।

आलोचकहरूका अनुसार चीनले वेलायतसँग गरेको एक देश, दुई प्रणाली सम्बन्धी सहमतिलाई उल्टाइरहेको र विपक्षीहरूलाई दबाउने काम गरिरहेको छ । पहिला उपनिवेश बनाएको वेलायतसँग भएको सहमतिअनुसार हङ्कङले आफ्नै कानुनी व्यवस्था जारी राख्न पाउँछ र वाक् तथा प्रेस स्वतन्त्रता सहितका अधिकारहरूको त्यहाँ उपभोग गर्न पाइन्छ ।

त्यो व्यवस्थालाई क्रमिक रूपमा हटाउँदै लगिन्छ भन्ने हङ्कङका मानिसहरूमा रहेको डरले सन् २०१९ मा लोकतन्त्रको पक्षमा ठूल्ठूला प्रदर्शनहरू निम्त्यायो । कतिपय प्रदर्शनहरू हिंसात्मक बन्न पुगे र बेइजिङले अन्ततः नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्यो । नयाँ कानुनले देशद्रोहलाई लक्षित गर्ने र हङ्कङमा स्थायित्व ल्याउने बेइजिङको दाबी छ ।

एनपीसीको वार्षिक बैठकका लागि हजारौँ सांसदहरू भेला भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बेइजिङको कदम हङ्कङको स्वायत्तता, हङ्कङका स्वतन्त्रताहरू र लोकतान्त्रिक प्रक्रियाहरूमाथि एउटा प्रत्यक्ष आक्रमण भएको बताएका छन् ।

वेलायतको विदेश मन्त्रालयले आधारभूत अधिकार तथा स्वतन्त्रता, हङ्कङमा उच्च तहको स्वायत्ततासहित हङ्कङका मानिससँग गरिएका प्रतिबद्धताहरू पूरा गरिरहन चिनियाँ अधिकारीहरूलाई आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *