प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टसलाई लाजियोले आफ्नो चुनौती पेश गर्दैछ । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस शिर्ष दुई स्थानमा रहेका मिलान क्लबसँग अङ्क दुरि घटाउन चाहन्छ । लिगको शिर्ष स्थानमा रहेको इन्टर मिलानको २५ खेलमा ५९ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको एसी मिलानले समान खेलबाट ५३ अङ्क जोडेको छ । एक खेल कम खेलेको युभेन्टस २४ खेलमा ४९ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।
यता लाजियोपनि आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । लाजियो पछिल्लो खेलमा बोलोग्नासँग २-० गोलले पराजित भएको थियो । लाजियोले लिगको पछिल्लो ५ खेलमा ३ जित र २ हारको नतिजा निकालेको थियो । दुई टोलीबिच भएको पछिल्लो ३० खेलमा २१ खेल खेल युभेन्टसले जितेको थियो भने ५ खेल लाजियोले आफ्नो पोल्टामा पारेको थियो ।
