काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले राजीनामा नगरे प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने घोषणा गरेको छ । संसद् बैठकको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले शीर्ष नेतृत्वलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने म्यान्डेट दिएको छ ।
सो समूहका अध्यक्ष एवं शुक्रबार नै संसदीय दलको नेता चयन भएका पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्र नयाँ समीकरणबारे टुंगो लाग्ने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको राजीनामा नआए अविश्वासको प्रस्ताव अगाडि बढ्ने बताए । ओलीले अविश्वासको प्रस्तावको बाटोमा जान आफूहरूलाई बाध्य बनाएको प्रचण्डको भनाइ थियो ।
‘आउने दिन सहज बनाउन संसद् पुनःस्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले मलाई दल नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री ओलीले अविलम्ब राजीनामा दिनु उहाँको र देशका लागि पनि सहज हुन्छ,’ प्रचण्डले भने, ‘उहाँले दिनुभएन भने हामी संविधान, कानुन, नियम, प्रक्रियाअनुसार संसद्बाट नै समाधान खोज्छौँ । अविश्वासको प्रस्तावको बाटोबाटै जान उहाँले बाध्य पार्नुभएको छ, हामी त्यही बाटो जान्छौँ ।’
तर, नेता देव गुरुङले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे निर्णय भइनसकेको बताए । ‘कुनै पनि हालतमा उहाँले राजीनामा दिनुभएन भने विकल्पको बाटो अविश्वासको प्रस्ताव हुन सक्छ । तर, पहिलो आग्रह राजीनामाकै माग हो,’ गुरुङले भने । गुरुङका अनुसार सत्तासमीकरणलाई लिएर विभिन्न तहमा छलफल भए पनि ठोस निर्णय हुन बाँकी रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘राजनीतिक नेताको बीचमा भविष्यका सम्भाव्य मार्गचित्रबारे कुराकानी हुन सक्छ । तर, अहिले राजनीतिक दलहरूका बीचमा कुनै पनि निर्णय भइसकेको छैन,’ उनले भने, ‘कसलाई प्रस्ताव गर्ने वा कसैलाई नगर्ने भन्नेबारेमा कुनै निर्णय भएको छैन ।’
