पोखरा विश्वविद्यालयमा पहिलो पटक उद्यमशीलता विकासको पढाइ हुँदै

पोखरा । पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन यही शैक्षिकसत्रदेखि उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ ।

सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सफल भई चारवर्षे स्नातक कोर्ष अध्ययन गर्ने पाउनेछन् । यसमा जम्मा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलतका विभिन्न पक्षको सैद्धान्तिक र व्यहारिक कोर्षको अध्ययन हुनेछ । सो कोर्षका लागि वार्षिक तीन लाख १४ हजार २०० रुपैयाँ शुल्क लाग्ने छ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ ।

विश्वविद्यालयको नियमानुसार २० प्रतिशत पूर्ण छात्रवृत्तिसमेत दिइनेछ । आउँदो चैत २ गतेसम्म फर्म भर्ने अन्तिम समय दिइएको छ ।
सो कार्यक्रमको शुक्रबार पोखरामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुभारम्भ गरे । उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यवहारिकरुपमा यसलाई सफल बनाउनुपर्ने बताए ।

उनले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सृजना भइरहेकाले अध्ययनपश्चात युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गरे । उनले देशमै स्व–व्यवसाय गरेर परम्परागत सीपलाई जर्गेना साथै अन्तर्राष्ट्रिय ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुनसमेत सबैलाई आग्रह गरे ।

स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकामा बधाई दिँदै आफूहरु सहकार्य र समन्वय गर्न तयार रहेको बताए । जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुने भएकाले यसको अध्ययन महत्वपूर्ण रहेको बताए ।

उनले आफ्नो विश्वविद्यालय भारतको पहिलो उद्यमशीलता पढाइ हुने विश्वविद्यालय भएकाले यसमा अध्ययरत विद्यार्थीको अनुभव आदानप्रदानले धेरै कुरा सिक्न सकिने धारणा राखे । शिक्षाको माध्यमबाट दुवै देशको सम्बन्धलाई अझ बलियो बनाउन सकिने पनि उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्ण अवस्थीले पछिल्लो समय अभिभावकले विदेशमा अध्ययनका लागि छोराछोरी पठाउने संस्कार बढेको जनाउँदै देशभित्रै शैक्षिक कार्यक्रमबाट युवाहरुलाई उद्यमी बनाउनुपर्ने आवश्यकता औल्याए । उनले निजी क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा १५औं योजना ६० प्रतिशत योगदान दिएको बताए ।

उद्योग मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीले नेपाल सरकारले उद्यमशीलतालाई केन्द्रमा राखेर प्रदेश र स्थानीय तह साथै आवधिक, वार्र्षिषक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

उद्योगको केन्द्रीय तथ्याङ्क अनुसन्धानका अनुसार ३९ खर्बको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रमा पाँच प्रतिशतमात्र योगदान रहेकाले उद्योग क्षेत्रको योगदान नबढेसम्म सुखी नेपाल समृद्ध नेपालको अभियान पुरा गर्न कठिन हुने उनको भनाइ थियो ।

औद्योगिक विकासमार्फत् नेपालको आर्थिक विकास गर्ने र सामाजिकरुपान्तरण गरी नेपालीको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने राष्ट्रिय अभियानका लागि हरेक नागरिक उद्यमशिल हुन जरुरी रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयबाट उद्यमशीलता सम्बन्धि पढाइ हुन जरुरी रहेको औँल्याए ।

अन्तराष्ट्रिय श्रम संगठन नेपालका रोजगारका लागि सीप कार्यक्रम संयोजक प्रकाश शर्माले उद्यमशीलताबारेको अध्ययनबाट शैक्षिक बेरोजगारी अन्त्य हुने धारणा राखे । उनले जागिर खोज्दै हिँड्ने नभइ जागिर दिन सक्ने दक्षजशक्ति उत्पादन हुनुका साथै उद्यम र विकासका लागि सहजकर्ताको खोजीसमेत पूरा हुने उनको भनाइ थियो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सहप्राध्यापक डा अजय थापाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यबाट नेपालमै पहिलो पल्ट यस कार्यक्रमको शुभारम्भ गरेको बताए । रोजगार र व्यवसायका लागि दक्ष जनशक्ति नै अहिलेको आवश्यकता रहेको महशुस गरेर लामो समयको गृहकार्यपछि यो कोर्ष ल्याउन सफल भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *