काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा भट्टराईले शक्ति छ भन्दैमा प्रधानमन्त्री ओलीलाई अति गरे खति हुने चेतावनी पनि दिएका छन् ।
‘प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत् भनेका छन्, ‘हलो अड्काएर गोरु चुट्नु कुनै पौरख हैन । बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता !’
अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको भन्दै डा. भट्टराईल निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन घोषणा गरे पनि यही फागुन ११ गते सर्वोच्च अदालतले बदर गरिदिएको थियाे । संसद पुनःस्थापनासँगै विभिन्न दलले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माग गरिरहेका भए पनि ‘ओलीले राजीनामा दिन्नँ, हटाएर देखाऊ’ भन्दै अडान लिइरहेका छन् ।
प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ,जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन।हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन।बिगार्न जसले पनि सक्छ;सपार्ने पो नेता!अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ!निकास खोज्ने मुख्य जिम्मा प्रमको हो!अतिले खति गर्छ!
— Baburam Bhattarai (@brb1954) February 28, 2021
