भीम रावलको प्रश्नः ओली समूहको गणपुरक संख्या नै पुग्दैन, के को आधिकारिक ?

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य  भीम  रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ।

काठमाडौंमा आइतबार आयोजित साक्षात्कारमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको  बताए। ‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन्,’ उनले भने।

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे । रावलले केपी ओलीको गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने,‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन ।’

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए । उनले भने,‘हिजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ । हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए ।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने उनले बताए । उनले भने,‘हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं ।’ ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *