प्रज्जवल थापा । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियन र सातदोबाटो युथ क्लब विजयी भएका छन् । शुक्रबार भएको दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई २-० गोलले हराएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछानेले एक/एक गोल गरे । यससँगै मध्यपुरले लिगमा पहिलो जित निकालेको छ । यस्तै शुक्रबार नै भएको पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोलाई जित दिलाउन दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक/एक गोल गरे । खुमलटारको लागि सविन केसी र अदिल हामेदले गोल गरेपनि जितको लागि पर्याप्त भएन । जितसँगै सातदोबाटोले आफ्नो अपराजित यात्रालाई कायम राख्दै ७ खेलमा १९ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको छ । लिगको पहिलो हार बेहोरेको खुमलटार ७ खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
तस्बिर:- एन्फा
