विप्लव समूह सरकारसँग वार्ता गर्न लाग्दा अन्य दललाई मन परेन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूह सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाएका छन्।

विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

पृथकतावादको कुरा गरिरहेका सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीले बताए।

आइतबार पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताए।

उनले भने, ‘विप्लवले सरकारसँग वार्ता गर्छौँ, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्। कतिपयलाई आतंक छायो। केहीलाई छट्पटी भएको छ।’

उनले देश, जनता र विकासप्रति इमान्दार भइ योगदान गर्नुपर्ने पनि बताए। राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *