दोहा । कतारमा रहेका तनहुँबासीहरुद्वारा स्थापित तनहुँ सेवा समाजद्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागि ७५ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको छ । शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
वैदेशिक रोजगारीको क्रममा प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको साहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाजको प्रयास र सहयोगका लागि धन्यवाद दिइन् ।
समाजले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुबीचको समन्वयमा सामाजिक काम गर्दै आएको जानकारी दिदैँ अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस्, न्यानो कपडा नभएर चिसोबाट पीडित हुन नपरोस् भन्ने संस्थाको उद्देश्य रहेको बताए । उनले भने, ‘हामीले जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्याउँदै आइरहेका छौँ ।’
महासचिव मिनराज वाग्लेले गृह जिल्लामा सामाजिक सहयोगको अभियान कार्यक्रमअन्तर्गत यसै साता सबै स्थानीय तहका ७० गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक (ब्लान्केट) सहयोगसमेत हस्तान्तरण गरिसकिएकाे बताए । सिरक वितरण तथा पीडित परिवारलाई आर्थिक सहयोगका लागि समाजका सदस्य गोबिन्दप्रसाद सुवेदीले समन्वय गरेका थिए ।