जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा हुने निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने दाबी गरेका छन्।
आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनपछि मात्रै देशमा राजनीतिक स्थिरता कायम हुने दाबी गरेका हुन्।
धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि निर्वाचनका लागि सबैलाई तयार रहन आग्रह गरे।
‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्,’ उनले भने ‘जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्,त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ। राजनीतिक स्थिरताका लागि अहिलेको विकल्प मध्यावधि निर्वाचन नै हो।’
दाहाल-नेपाल समूहतर्फ इङ्गित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही तत्वहरूले सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्री ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको स्पष्ट गरे।
