पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता, भारतमा भएन राजनीतिक भेटघाट

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी शनिबार स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर शनिबार स्वदेश फर्किएका हुन् ।

वरिष्ठ नेता खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर देशमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै उनले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् ।

भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको पनि भन्दै आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि उल्लेख गरे । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

खनाल धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *