प्रचण्ड–नेपाल र मधेसी नेताको विरोध गरेकै कारण राजेश झा प्रदेश प्रमुख भएका हुन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा(अहिराज)लाई नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले तिलक परियारलाई पदममुक्त गरी झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

झा पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा तथा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल अनि मधेसी नेताहरुको चर्को आलोचना गर्दै आएका थिए ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् । उनी नेपालमा लिडर नभई डिलर जन्मिएका भन्दै ओलीको समर्थन र अन्य राजनीतिक दलका नेताको उछितो काढ्ने काम गर्दै सामाजिक संजालमा छाउने गरेका थिए ।

नागरिकलाई ढाँट्ने, नागरिकलाई देखाएर राजनीति कसरी हुन्छ भन्दै प्रश्न गर्ने उनी कसरी केपी ओलीका प्रिय भए त ? उनी भारतीय दूतावासको निकट भएकै कारण ओलीले उनलाई प्रदेश प्रमुख बनाएका उनी निकटहरु बताउन थालेका छन् । तर एउटा टिभी अन्तरवार्तामा उनले सर्वोच्चले संसद पुनःस्थापना गर्नेमा भने आफू विश्वस्त रहेको बताएका थिए ।

तीन वर्षसम्म संसद चल्दा जनताको पक्षमा सरकारले के निर्णय गरेको भन्दै आलोचना गर्ने उनी कसरी एकाएक ओलीका प्रिय भए त ? एउटा प्रश्न उव्जिएको छ । एउटा दलित समुदायको प्रतिनिधित्व गर्ने परियार किन ओलीका अप्रिय भए त ? नेकपा माओवादीमा लागेर राजनीति गरेका उनको योगदान यो लोकतन्त्र ल्याउनुमा कतै थिएन त ? समावेशीको कुरा गर्ने ओलीले राज्यले पछाडि पारिएका समुदायलाई अगाडि बढाएन भनेर वकालत गर्ने झाले किन पद लोलुपता देखाए त ? के अब झा प्रदेश प्रमुख भएपछि सबै कुरा पूरा भयो त ? प्रचण्ड, माधव नेपाल अनि मधेसी नेताहरुलाई पदको भोको भन्ने झालाई चाहिँ के भन्ने नि ?

उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् भने अनामनगरको हनुमानस्थानस्थित मधेश मिडिया हाउसका संचालकसमेत हुन् । उनले सम्पादन गर्ने मधेशवाणी पत्रिकामा केही वर्षअघि तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनीविरुद्ध राज्य द्रोहको मुद्दा समेत लागेको थियो । पछि सफाइ पाएर उनी रिहा भएका थिए ।
हेर्नुस् झाको अन्तरवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *