काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह केपी ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको निष्कर्षमा पुगेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडाँमा केन्द्रीय कमिटीको अनौपचारिक बैठक काम चलाउ सरकार संसद विघटनपछि दमनकारी क्रियाकलापमा उत्रिएको निष्कर्षमा पुगेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने बताए ।
उनले आफूहरुले कुनैपनि हालतमा लोकतन्त्रको रक्षा गरी छाड्ने बताए । निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको तरपनि ढिलोचाँडो संविधान र कानून अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको उनले बताए । उनले भने, ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तरपनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसला गर्नेछन भन्ने अपेक्षा गर्दछौं ।’
शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा समेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुट बाहेक सिंगो देश एकतावद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताए ।
सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताए । उनले भने, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधिन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’
यस्तै पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने र त्यस अन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरुको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरुको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पुरा गर्ने विषय केही दिन भित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्वयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताए ।
