काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले सबैले मातृभूमिको पवित्र माटो छातिमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहेका बताएका हुन् ।
प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा बिबाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’
पूर्वराजाले नेपालमा निषेध र विभेदको राजनीति शुरु भएको आरोप लगाएका छन् । उनले जनता र राजाको सहमतिमा नेपाल खडा भएको जिकिर गर्दै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुने बताएका छन् ।
संवाद सचिब डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

