काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न पार्टीको विधानमा व्यवस्था गर्ने भएको छ।
संविधानको साहरा लिएर कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि छ महिनाका लागि थप गर्ने व्यवस्था गर्न विधानको धारा ४३ सच्याउन लागेको छ।
संविधानमा राजनीतिक दलहरूलाई विशेष परिस्थितिमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ। सोही व्यवस्था कांग्रेसले पार्टीको विधानमा समावेश गरेर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न लागेको छ।
‘पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थामा भनिएको छ।
विधानमा उल्लेख गरिने उक्त व्यवस्था पार्टीको १४ औं महाधिवेशनबाट पारित गरिने कांग्रेसले जनाएको छ। देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै छ।
