प्रज्जवल थापा । युवा फर्वार्ड एर्लिङ ब्राउट हालान्ड चम्केको खेलमा डर्टमण्डले पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लबले सेभिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।
सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन हालान्डले दुई गोल र महमोद डाहोउडले एक गोल गरे । सेभिल्लाको लागि सुसो र लुके डियोङले एक/एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । सातौं मिनेटमा सुसोले गोल गर्दै सेभिल्लालाई खेलमा अगाडि बढाएका थिए । १९ औं मिनेटमा हालान्डको पासमा डाहोउडले गोल गर्दै डर्टमण्डलाई बराबरीमा ल्याए ।

२७ औं मिनेटमा जोडान सान्चोको पासमा हालाण्डले गोल गर्दै जर्मन टोलीलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मार्को रेउसको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ३-१ गोलको अग्रता दिलाए । ८४ औं मिनेटमा ओस्कार रोड्रिग्वेजको पासमा डि योङले गोल गर्दै सेभिल्लालाई ३-२ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा सेभिल्ला हार बेहोर्न बाध्य भयो ।
दोस्रो लेग डर्टमण्डको घरेलु मैदानमा मार्च ९ मा हुनेछ ।
