प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टस पराजित भएको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्टोलाई जित दिलाउन मेह्डि टारेमी र मोउसा मारेगाले एक/एक गोल गरे । युभेन्टसको लागि फेड्रिको चिएसाले गरेको गोल सान्तवनामा सिमीत रह्यो । खेलको पहिलो मिनेटमै पोर्टोले अग्रता लिएको थियो । युभेन्टसले डिफेन्समा गरेको गल्तीको फाइदा उठाउँदै टारेमीले गोल गरेका थिए ।

यस्तै दोस्रो हाफको पहिलो मिनेटमा विल्सन मानाफाको पासमा मोउसा मारेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा राबियोटको पासमा चिएसाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा युभेन्टस २-१ गोलको हार बेहोर्न बाध्य भयो ।
अब युभेन्टसको घरेलु मैदानमा दोस्रो लेग मार्च ९ मा हुनेछ ।
