प्रधानमन्त्रीले संसद विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेका छन्: मन्त्री ढकाल

झापा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताएका छन् । मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उनले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए ।

‘नेपाली भाषामा अग्रगमन भने अगाडि बढ्ने कुरा हो’, मन्त्री ढकालले भने, ‘जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरू नै प्रतिगमनकारी हो ।’ विघटन नभएको अवस्थामा मात्र संसदको अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उनले जिकिर गरे । सधैंका लागि प्रधानमन्त्रीले संसद विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उनको भनाइ थियो।

कार्यक्रमका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताए । नेता नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *