कार्यसमिति बैठक अघि पौडेलले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाए

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाएका छन्।

केन्द्रीय सदस्य गुरूराज घिमिरेले   दिएको जानकारीअनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता पौडेलले बैठक राखेका छन्।

फागुनभित्र क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। उक्त बैठक बस्नुअघि आवश्यक छलफल गरी रणनीति तय गर्न पौडेलले भेला राखेका छन्।

आफू पक्षका केन्द्रीय सदस्यसँग छलफल गरी आजको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नै प्रस्ताव गर्न लागेका छन्।

चैत महिनामा पार्टीका स्थानीय तहको निर्वाचन गर्न पनि पौडेल पक्षले आजको केन्द्रीय समितिमा प्रस्ताव गर्दैछ। वैशाखमा प्रदेश तहको र जेठमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने कार्यतालिका नै आजको बैठकमा पेश गर्ने तयारी छ।

सभापति देउवाको नियमित चार वर्षे कार्यकाल गत वर्ष सकिएको थियो। देउवाले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेका थिए। देउवाको कार्यकाल यही फागुन १९ सम्म छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *