कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार अपराह्न २ बजे बस्दैछ । क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनलाई लिएर अन्यौल कायम रहेकै अवस्थामा सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसको महाधिवेशन यही फागुनमा हुने भनिए पनि कोरोना भाइरसको महामारीका कारण त्यो सम्भव भएन ।

संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्ष भित्र गर्नुपर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिनाभित्र गर्नुपर्ने उल्लेख छ । तर सभापति देउवाले भने आउँदो भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो । तर कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले थप गरेको अवधि पनि यही फागुन १९ मा सकिँदै छ, अर्थात उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *