काठमाडौँ । सरकारले भारतसँग २० लाख कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रति खोप ४ अमेरिकी डलरको दरमा खरिद गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।
खरिदकार्य सहज बनाउन अध्यादेश जारी गरिएको जानकारी दिदैँ मन्त्री त्रिपाठीले भने, अब बाधा अड्काऊ फुकेको छ, ४ डलरको दररेटमा २० लाख भ्याक्सिन खरिद गर्ने निर्णय भएको छ ।’
उत्पादक कम्पनीले सोही दररेटमा खोप काठमाडौँ विमानस्थलसम्म ल्याइदिने छ । यो दररेट संसारकै सबैभन्दा सस्तो भएको पनि मन्त्री त्रिपाठीले बताए ।
भारतबाट अनुदानमा प्राप्त १० लाख खोपबाट हाल कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । चीनले पनि नेपाललाई ५ लाख खोप अनुदानमा प्रदान गर्ने घोषणा गरिसकेको छ भने राष्ट्रसंघको संयोजनमा बनेको कोभ्याक्समार्फत् पनि नेपालले साढे २२ लाख डोज खोप प्राप्त गर्नेछ ।
