भागरथी हत्या गर्ने दोषीको नजिक प्रहरी पुगेको छ :गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको बताएका छन्।

बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए।

भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुंगोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *