बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सिंगो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताएका छन्। कांग्रेसले आज सदरमुकामस्थित गोठलापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको लेखकले बताए।
प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरूले अहिले आन्दोलन नगरेको उनले खुलाए। ‘केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ,’ उनले भने, ‘यसअघि माननीय गृहमन्त्रीज्यूलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौं, उहाँले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभएको छ।’
प्रहरीलाई कांग्रेसले गरेको सहयोग र कांग्रेसले गरेको धैर्यतालाई कमजोरीका रुपमा नलिन उनले आग्रहसमेत गरे। भने, ‘निर्मलाको पन्तको जस्तो स्थिति फेरि भागरथी भट्टमा दोहिरियो भने नेपाली कांग्रेस चुप लागेर बस्ने छैन, यसका लागि सरकार जवाफदेही हुनेछ, जिम्मेवार हुनेछ, यो चेतावनी दिन चाहन्छु।’
नेता लेखकले घटनाको अनुसन्धानका लागि प्रहरी र प्रशासनलाई हालसम्म आफूहरूले सहयोग गरेको दाबी गरे। भने, ‘सरकारप्रति विश्वास छ, प्रहरीले छिट्टै हत्यारा पत्ता लाग्नेमा विश्वस्त छौं, भागरथीको हत्यारालाई तत्काल सार्वजनिक गर्न कांग्रेसको माग छ।’
एक फरक प्रसंगमा उनले नेकपा नेतृत्वको सरकारले देशको दुर्दसा भएको बताए। कांग्रेस नेतृत्वले बनाएको संविधानलाई कुल्चिँदै केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका उनले बताए।
