अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ । समाचार संस्था एएफपीका अनुसार उनीहरूबीच केही समयअघि कुराकानी भएको हो ।
जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार चिनियाँ परम्परागत नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्ध जारी रहेका बेला यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो छ । त्यसैले यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ ।
चीनकाे विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन इङ्गले दुबै राष्ट्रपतिबीचकाे सम्वाददे विश्वलाई सकरात्मक संकेत पठाएकाे बताएकी छन् ।
बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा के-के छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए । बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका थिए ।
