अव राष्ट्रिय स्तरमै एसईई परीक्षा

 

काठमाडौं  । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।
कानुनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको बताए। प्रदेशलाई एसईई सञ्चालन गर्न स्पष्ट कानुन तथा परीक्षा सञ्चालन गर्न सक्ने विश्वसनीय संस्थाको अभावमा बोर्डले नै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
अब प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले परीक्षाको तयारीलाई अगाडि बढाउने छ । खासगरी उत्तरपुस्तिकाको छपाइको आर्थिक जिम्मेवारी प्रदेश सरकारसँग रहेकोले समन्वयबाटै काम गर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । हाल एसईईको परीक्षा फाराम भर्ने कार्य चलिरहेको छ । यसका साथै प्रश्नपत्र निर्माणलगायतका परीक्षासँग सम्बद्ध काम अगाडि बढाइएको छ । बोर्डका अध्यक्ष पौडेलले एसईई आउँदो वैशाखभित्रै गर्न बोर्ड सक्षम रहे पनि विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चितता हुन नसकेकाले परीक्षाका लागि जेठ उपयुक्त हुने देखिएको बताए। बोर्डले परीक्षाबारेमा आधिकारिक निर्णय भने गरिसकेको छैन । यसका साथै शैक्षिक सत्रको व्यवस्थापनको अधिकारसमेत बोर्डलाई दिइएको छ । हाल विद्यालयको पठनपाठन भौतिक रूपमा सञ्चालन गरिएको भए पनि शैक्षिक सत्रको सुरुवात र शैक्षिक सत्र समापनको विषय स्पष्ट हुन सकेको छैन । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *