विप्लव माओवादी संगठन विस्तारमा

डडेल्धुरा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ । सो पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् ।
मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।
संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । उनले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिए ।
विप्लवको पार्टीले जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्ती स्तरमा टोल कमिटी र भ्रातृ तथा जनवर्गीय संगठनहरु गठन र पुनर्गठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ले जानकारी दिए । उनले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताए ।
सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाइ छ । सरकारसँग वार्ताको वातावरण बन्दा सुरक्षा सहजता हुने देखिएकोले सो पार्टीले संगठन विस्तारमा तीव्रता दिएको हो । गत साता मात्रै भागेश्वार गाउँपालिका–५ मा वडा कमिटी गठन गरेको सो पार्टीले विभिन्न ग्रामीण बस्तीमा धमाधम कमिटी गठन गरिरहेको स्थानीय बताउँछन् ।
पार्टीका वडा कमिटी, टोल कमिटी, पालिका स्तरीय कमिटी गठन तथा पुनर्गठन अभियानमा रहेको सो पार्टीले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अखिल क्रान्तिकारी, जनस्वयम्सेवक संगठन, किसान संघ (क्रान्तिकारी) जस्ता भ्रातृ तथा जनवर्गीय संगठनहरु विस्तार गरिरहेको सो पार्टीका जिल्लास्तरीय नेताहरु बताउँछन् । पछिल्लो समय विप्लवका गतिविधि बढ्दै गएको भए पनि सुरक्षा निकायको सक्रियता देखिँदैन ।
सडक आन्दोलनका कारण सुरक्षा निकाय सदरमुकाम र स्थानीय तहका मुकामहरुमा बढी केन्द्रित हुन थालेकाले पनि विप्लवलाई ग्रामीण बस्तीमा संगठन विस्तारका लागि सहज भएको स्थानीय बताउँछन् । सरकारसँग वार्ताको तयारी भइरहेको सन्दर्भमा खासै जानकारी नभएको र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई पहिला जस्तै व्यवहार गरिने जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।
जिल्ला सुरक्षा समितिमा ‘विप्लव’ का गतिविधिहरु न्यूनीकरणका लागि छलफल हुने गरेको र कडाइका साथ नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *