अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनवार्ता भएको छ । जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेपछि बाइडेनले पहिलो पटक भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका हुन् ।
सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई नेताहरूबीच क्षेत्रीय भू-राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको नयाँदिल्ली र वासिङ्टनले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री कार्यालयले जारी विज्ञप्तिमा मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिँदै भारत-अमेरिका रणनीतिक सहकार्यका लागि काम गर्न आतुर रहेको बताएको उल्लेख गरिएकाे छ ।
‘उहाँहरूबीच क्षेत्रीय विकास र समग्र भू-राजनीतिक विषयमा कुराकानी भयो । दुबै जनाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासेफिकका लागि उस्तै सोच राख्ने देशहरूबीचको सहकार्यको महत्वलाई दोहोर्याउनुभयो,’ विज्ञप्तिमा भनिएको छ । कुराकानी क्रममा मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने र आगामी अप्रिलमा जलवायु सम्मेलन गर्ने बाइडेनको निर्णयको स्वागत गरेका थिए ।
अमेरिकी राष्ट्रपति कार्यालयले ह्वाइटहाउसले पनि विज्ञप्ति जारी गर्दै दुई नेताबीच कोभिड-१९ विरूद्धको लडाइँमा सहकार्य गर्ने, जलवायु परिवर्तनका विषयमा दुई देशबीचको सहकार्यलाई नवीकरण गर्ने, दुबै देशका जनतालाई फाइदा पुग्ने गरी विश्व अर्थ व्यवस्था बनाउने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने विषयमा कुरा भएको उल्लेख गरेको छ ।
दुई नेताहरू नेभिगेसनको स्वतन्त्रता र भौगोलिक एकतासहित स्वतन्त्र खुला र इन्डो-प्यासेफिक क्षेत्र बनाउनका लागि सहकार्य बढाउने कुरामा सहमत भएको ह्वाइट हाउसले जनाएको छ । ‘राष्ट्रपति बाइडेनले संसारभरि प्रजातान्त्रिक संस्था र मूल्यमान्यताको रक्षा गर्ने आफ्नो चाहनामा जोड दिँदै प्रजातान्त्रिक मान्यताप्रतिको प्रतिवद्धता नै अमेरिका-भारत सम्बन्धको आधार भएको उल्लेख गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।
दुई नेताहरू म्यानमारमा कानुनी शासन र प्रजातान्त्रिक प्रक्रिया लागू हुनुपर्ने कुरामा पनि एकमत भएको बताइएकाे छ । म्यानमारमा गत साता सेनाले कूमार्फत् सत्ता हत्याएको छ ।
