सभामुख अर्यालसँग साउदी राजदूतको भेट

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।

उक्त समूहका माध्यमबाट दुवै देशका संसद्बीच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

उहाँले नेपाल र साउदीबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरे ।

राजदूत मनिखले साउदी अरब र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्कलाई विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ । युवा,श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदीमा तीन लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *