प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र अपरिहार्यः अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।

मंगलबार पार्टीको काठमाडौं  जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले प्रजातन्त्रलाई सबल बनाउन हिन्दूराष्ट्र र राजसंस्था अपरिहार्य रहेको बताएका हुन् ।

उनले भने, ‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दूराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्।’

झण्डै दुइतिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे । ‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा हो, राप्रपा मात्र हो,’ उनले भने ।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजीरहेको बताए । ‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,’ अध्यक्ष लोहनीले भने । ‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र शुभेच्छा छ,’ उनले भने ।

यौ मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए । जनचाहना बमोजिम राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य हासिल गर्ने लाहनीले दाबी गरे ।

उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध बिस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *