लमजुङ । लमजुङमा अधिकांश दम्पतीले परिवार नियोजनको अस्थायी साधन प्रयोग नगर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम संचालन गरे पनि ७५ प्रतिशतले अस्थायी साधन प्रयोग नगरेको पाइएको हो ।
जिल्लाभरि २५ प्रतिशत महिलाले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लाभरिका ५३ हजार १ सय ६६ प्रजनन उमेरका महिलालाई परिवार नियोजनको साधन प्रयोगमा पु¥याउने लक्ष्य रहे पनि यो संख्या धेरै कम देखिएको हो । महिलाको तुलनामा स्थायी बन्ध्याकरण गर्ने र अस्थायी साधन प्रयोग गर्ने पुरुषको संख्या बढि देखिएको छ ।
महिलाले भने स्थायी बन्ध्याकरण गर्ने, न्यून मात्रामा पिल्स, अधिक मात्रमा डिपो, आइयुसीडी र इम्प्लान्ट प्रयोग गर्ने गरेका छन् ।
यता, परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउन दुर्गम बस्तीमा वर्षको दुईपटक घुम्ती शिविर सञ्चालन हुँदै आए पनि प्रभावकारी हुन सकेको छैन । लमजुङमा अस्थायी साधन प्रयोगकर्ता न्यून संख्यामा देखिएको स्वास्थ्य कार्यालय लमजुङका सूचना अधिकारी लेखनाथ उपाध्यायले स्वीकार गरे ।
स्वास्थ्य कार्यालय लमजुङका अनुसार चालु आर्थिक वर्षमा ६ हजार ९ सय ६२ ले स्थायी बन्ध्याकरण गरेका छन् । यस्तै, १ हजार ५ सय २६ ले कण्डम, १ हजार ५ सय ५० ले डिपो र ७ सय ९९ जनाले पिल्सको प्रयोग गरेका छन् । त्यस्तै, इम्प्लान्ट १ हजार ३२ र आईयुसीडी एक हजार ६ सय ३० जनाले प्रयोग गरेका छन् ।
हाल स्वास्थ्य कार्यालय लमजुङ मातहतका ९५ स्वास्थ्य संस्थाहरुबाट परिवार नियोजनको अस्थायी साधन निःशुल्क वितरण हुँदै आएको छ । परिवार नियोजनसम्बन्धी कार्यक्रम प्रभावकारी नहुनु, सचेतनाको अभावलगायतका कारणहरु कम संख्यामा स्थायी बन्ध्याकरण र अस्थायी साधनको प्रयोगकर्ता देखिएको स्वास्थ्यसँग सम्वन्धित सरोकारवालाहरुले बताएका छन् ।
अधिकांश महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनु तथा ग्रामीण भेगका महिलाले अस्थायी साधन प्रयोग गर्न नजान्नु, जाने पनि झन्झट मान्नु नै अस्थायी साधन प्रयोगमा कमी आएको एक स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा गएर अस्थायी साधन माग्न लाज मान्ने अविवाहित युवतीले प्राइभेट मेडिकलबाट इकोन र आइपिल्स किनेर प्रयोग गर्ने गरेका छन् ।
