काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध अनामनगर हनुमानस्थानमा प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले विरोधपत्र बुझ्न अस्वीकार गरेपछि अनेरास्ववियूले प्रदर्शन गरेको हो ।
आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर उनीहरुले प्रदर्शन गरेका हु्न् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले सडकमा नाराबाजी तथा प्रदर्शन गरेको थियो ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाए । अनेरास्ववियूले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।

