धनकुटा । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्न नभई तानाशाह बन्न संसद् विघटन गरेको आरोप लगाएका छन्।
शनिबार जनता समाजवादी पार्टी धनकुटाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीले एकपछि अर्को गैरसंवैधानिक कदम चाल्दै गरेको बताएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाबादीको साथ पाएर संसद विघटन गरेको आरोप लगाएका छन। उनले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचन भएमा २०४७ सालको संविधानअनुसार हुने भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीको साथमा राजावादी मात्र रहेको कारण हिन्दु राज्य र राजतन्त्र स्थापनाको बाटो रोज्न सक्ने आशंका बढेको डा. भट्टराईले बताए। उनले प्रधानमन्त्री ओली २०१७ सालमा झै राजा महेन्द्र पथमा लागेका बताउँदै बहुला राजा भनिने रणबहादुर शाह र जंगबहादुर राणाले अपनाएको शैली अपनाएको कारण आन्दोलन जरुरी रहेको भट्टराईको दाबी छ।
नेपालमा पटक-पटक लेखिएका संविधानमा प्रधानमन्त्रीले बेलाबेला संसद विघटन गरेर राजनितिक अस्थिरता ल्याएको भन्दै यो संविधानमा संसद विघटन गर्न धारा ७६ मा चार खुड्किला पार गर्नुपर्ने प्रवधान रहेको भट्टराईको भनाइ छ। संसद विगठनको संविधानका उपधारामा उल्लेखित प्रावधान मध्ये पहिलो खुड्किलोसमेत ओलीले नअपनाएका कारण संसद् पुन:स्थापना हुने उनको तर्क छ।
