म्याग्दी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसात तिमिल्सिनाले दललाई अदालतको फैसला कुरेर देशमा स्थिरताको वातावरण कायम गराउन आग्रह गरेका छन् ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको शनिबार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न दललाई आग्रह गरेका हुन् ।
“देशलाई फेरि स्थिरताको दिशातिर लैजान दल लाग्नैपर्छ । दलको बिकल्प अरु हुनै सक्दैन,” उनले भने, “अब राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन । त्यो एक जनाले घोषणा गरेर हुँदैन । गणतन्त्रको बिकल्प सोच्ने संविधानमा ठाउँ छैन ।” राजनीतिक स्थिरता, शुसासन र विकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको भन्दै अध्यक्ष तिमिल्सिनाले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा विघटन हुने अवस्था आउनु दुःखद् भएको बताए ।
तिमिल्सिनाले भने, “शान्त भएर अब अदालतको निर्णय कुर्ने र मानेर अघि बढ्नुको विकल्प छैन ।” अदालतले आफू अनुकूलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमिल्सिनाले बताए । संसद् विघटन सदर गरे सबै चुनावतिर होमिनुपर्ने उनले बताए ।
