काठमाडौँ । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपील गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत् जनतालाई दु:ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार पनि प्रदर्शन गर्दैछ । प्रदर्शनको पूर्वसन्ध्यामा जारी विज्ञप्तिमा प्रवक्ता शर्माले सडकबाट सालिन ढंगले विरोध गर्न आग्रह गरे ।
‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं,’ विज्ञप्तिमा उनले भनेकाे छन्, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौँ । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’

