संवैधानिक आयोगका पदाधिकारी नियुक्ति संविधानको ठाडो उल्लंघनः सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन् ।

सभामुख सापकोटाले संसदीय सुनुवाइ बिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए ।

असंवैधानिक रुपमा संसद विघटन गरिएका कारण संसदीय सुनुवाई समितिमा सुनुवाई हुन नसक्ने स्थिति भएकालेसबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको बताए ।

संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाई छ । सभामुख सापकोटाले संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको बताए । आफूले जे गरेपनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उनले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिए ।

देश र जनताको पक्षमा ठिक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताए । सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधान माथि खेलवाड गर्दै संविधान विपरितका कार्यहरु थपिदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने बताए । सभामुख सापकोटाले संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बिरुद्धमा शुक्रबार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *