संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति संविधानमाथि अर्को घातक प्रहार: विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ नगरी पदाधिकारीहरूको नियुक्ति तथा सपथ ग्रहण गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको बताएको छ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको बेला नियुक्ति गर्नु संविधानमाथि अर्को घातक प्रहार भएको पार्टीले बताएको हो। ‘श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै यो सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको छर्लङ्ग भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको अर्को असंवैधानिक कदमलाई राष्ट्रपतिले फेरि सहज गर्नु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै उपस्थितिमा सपथ भएपछि उनीमाथि पनि पार्टीले नैतिकताको प्रश्न उठाएको छ।

त्यस्तै, सरकारको प्रतिकार गर्ने नाममा जनतालाई दु:ख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्तालको कार्य नगर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *