प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा एभर्टन विजयी भएको छ । बुधबार राति भएको खेलमा एभर्टनले लिड्स युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा ग्यल्फी सिगुर्डसन र डोमिनिक काल्भेर्ट लेविनले एक/एक गोल गरे । लिड्सको लागि राफिन्हाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलको नवौं मिनेटमा डिग्नेको पासमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई खेलमा अगाडि बढाएका थिए । ४१ औं मिनेटमा गडफ्रेको पासमा काल्भेर्ट लेविनले गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए ।
४८ औं मिनेटमा बामफोर्डको पासमा राफिन्हाले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एभर्टन २-१ गोलले विजयी भयो । जितसँगै एभर्टन २० खेलमा ३६ अङ्क जोड्दै लिगको छैटौ स्थानमा उक्लिएको छ।
