ग्रिजमन चम्किदा बार्सिलोना कोपाको सेमिफाइनलमा

प्रज्जवल थापा । फ्रान्सेली फर्वार्ड एन्टोइन ग्रिजमन चम्केको खेलमा बार्सिलोनाले शानदार जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलको टिकट काटेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले अतिरिक्त समयमा ग्रानाडालाई ५-३ गोलले पराजित गरेको हो ।

ग्रानाडाको घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन ग्रिजमन र जोर्डी अल्बाले दुई/दुई गोल गर्दा डि योङले एक गोल गरे । ग्रानाडाको लागि केनेडे, सोल्डाडो र फेडे भिकोले एक/एक गोल गरेपनी टोलीलाई जित दिलाउन सकेनन् । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । ३३ औं मिनेटमा अल्ब्रेटो सोरोको पासमा केनेडेले गोल गर्दै ग्रानाडालाई खेलमा अगाडि बढाएका थिए ।

४७ औं मिनेटमा मोन्टोरोको पासमा सोल्डाडोले गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाए । बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिमा शानदार पुनरागमन गर्यो । ८८ औं मिनेटमा लियोनल मेस्सीको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई २-१ को स्थितिमा ल्याए । थप गरिएको दोस्रो मिनेटमा ग्रिजमनको पासमा अल्बाले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दसौँ मिनेटमा अल्बाको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । १ सय ३ मिनेटमा फेडे भिकोले पेनाल्टीमा गोल गर्दै ग्रानाडालाई बराबरीमा ल्याए । १ सय ८ औं मिनेटमा डियोङले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । १ सय १३ औं मिनेटमा ग्रिजमनको पासमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ५-३ को शानदार पुनरागमन जित दिलाए ।

जितसँगै बार्सिलोना कोपा डेल रे को सेमिफाइनल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *