प्रधानमन्त्रीको कदमविरुद्ध मोरङमा चक्काजाम

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरस्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धमा चक्काजाम गरेको छ।

ओली सरकारले प्रतिनिधिसभा विघटनको कदम प्रतिगामी भएको भन्दै विराटनगरस्थित रोडसेश चोकमा अनेरस्ववियूले एक घण्टा चक्का जाम गरेको हो। विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियूको केन्द्रीय नेता दीपेन्द्र मेहेताले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयताको पक्षमा नरहेको दाबी गरे।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र पचेकै थिएन,’ मेहेताले भने, ‘जुन समय नेपाली जनता गणतन्त्र प्राप्तिका लागि संघर्ष गरिरहेका थिए। ओलीले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तो हो भनेका थिए। यो आधारले पनि प्रधानमन्त्रीलाई देशमा गणतन्त्र, संघीयता चाहिएको थिएन।’

अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस कमिटीका इन्चार्ज निर्मल भण्डारीले जनता एकजुट भएर प्रधानमन्त्री ओलीलाई सडकबाट नै परास्त गर्ने दाबी गरे। उनले सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने मा आफू विश्वस्त रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *