प्रज्जवल थापा । स्ट्रार फर्वार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सान सिरोमा भएको खेलमा युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गर्दा इन्टरको लागि लौटारो मार्टिनेजले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । नवौं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई खेलमा अगाडि बढाएका थिए ।

खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याएका थिए । अस्ली योङले कौड्राडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछी पाएको पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती गरेनन् । यस्तै ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि युभेन्टस २-१ गोल अन्तरले विजयी भएको हो । सेमिफाइनलको दोस्रो लेग फ्रेब्रअरी ९ मा एल्लिनाज एरिनमा हुनेछ ।
