काठमाडौँ । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको असहमतिका कारण बैठक स्थगित भएको हो ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक स्थगित भएको बताइएको छ ।
विगतमा गरेको नियुक्तिको सिफारिस असंवैधानिक भएको भनिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक बोलाएका थिए । बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताइएको छ । संवैधानिक निकायमा नियुक्ति सिफारिस बैठकको एजेण्डा रहेको थियो ।
प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरिएकै दिनसंवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषदमै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गरेका हुन् ।
