निर्वाचन आयोगद्वारा निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ। आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकाले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए। राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाइ छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए। मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेल निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राखे।

दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्न सक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उनको भनाइ छ। राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उनले सुझाव दिए।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए। उनले प्रमुख निर्वाचन आयुक्तहरुसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पारे। सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *