काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले प्रहरी दमनको निन्दा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण बिरोध कार्यक्रममा सहभागी विद्यार्थी नेतालाई पक्राउ गरेर कुटपिट गरेको घटनाको निन्दा गरेको हाे।
नेकपा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले एक प्रेस नोट जारी गर्दै दोषीलाई कारबाहीको काम गरेका हुन्। अनेरास्ववियुको आयोजनामा काठमाडौंको बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई पक्राउ गरी प्रहरी भ्यानमा राखेपछि कुटपिट भएको भट्टराईको दाबी छ ।
प्रहरीको कुटाइबाट विद्यार्थी नेता प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ।
‘असंवैधानिक र प्रतिगामी कदम विरुद्ध आज अनेरास्ववियुको आयोजनामा काठमाडाैंको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्किनेक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्ष समिति घोर निन्दा गर्दछ’ प्रेस नोटमा भनिएकाे छ।
