काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा जाने भएका छन्।
धनुषाको ढल्केवरमा विद्युत सव–स्टेशन उद्घाटन र सिरहामा स्वर्गीय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री तराई झर्न लागेका हुन्। ढल्केवरमा चार सय केभीए क्षमताको विद्युत सव स्टेशन निर्माण पूरा भइसकेको छ। आज विहान ११ बजे प्रधानमन्त्रीले उद्घाटन गर्नेछन्। उद्घाटनका लागि प्रधानमन्त्रीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी ढल्केबर जाने कार्यक्रम रहेको छ।
यस्तै सिरहा सदरमुकाममा कम्युनिस्ट नेता स्वर्गीय हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि ढल्केबरबाट प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको प्रधामन्त्री ओलीको सचिवालयले जनाएको छ। पूर्व सांसद यादवको १७ वर्ष अघि हत्या भएको थियो। तर अझै उनको हत्यारा कानूनी दायरामा आएको छैन्।
हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा नवीनले पटक–पटक कम्युनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समूहमा लागेका छन् ।
यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामन्त्री रायमाझी, मन्त्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह र जुली महतो समेत सहभागी हुनेछन्।
