प्रज्जवल थापा । एथ्लेटिको म्याड्रिडले घरेलु लिगमा आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले काडिजलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
काडिजको मैदानामा भएको खेलमा एथ्लेटिको म्याड्रिडलाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा साउल निगेज र कोकेले एक/एक गोल गरे । काडिजको लागि अल्भारो नेग्रेडोले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । २८ औं मिनेटमा लुईस स्वारेजले फ्रिकिक गोल गर्दै एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए ।

३५ औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै कडिजलाई बराबरीलाई ल्याएका थिए । ४४ औं मिनेटमा थोमस लेमारको पासमा साउल जिगेजले गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए । ५० औँ मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ७१ औं मिनेटमा अल्भारो नेग्रेडोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए ।

तर ८८ औं मिनेटमा एन्जल कोरेराको पासमा कोकेले गोल गर्दै एथ्लेटिकोलाई ४-२ गोलको सहज जित दिलाए । जितसँगै एथ्लेटिकोले लिगमा दोस्रो स्थानमा बार्सिलोनामाथि स्पष्ट १० अङकको दुरि राखेको छ । एक खेल कम खेलेको एथ्लेटिको १९ खेलमा ५० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ ।
