काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रबन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।
मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्द्धन सशक्तीकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने षडयन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए।
अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधि सभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका उनले बताए।
संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क गरे।
सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहँदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए।
