विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम हुने बास्कोटाको दाबी

काभ्रे । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन् । नेकपाको केपी ओली समूहको काभ्रेको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा बास्कोटाले नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे ।

“हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको सङ्केत दिएको छ”, बास्कोटाले भने ।

सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उनको दाबी थियो । “१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्”, बास्कोटाले भने ।

बास्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने भन्दै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दावी गरे ।

उनले भने “गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।” उनले वर्तमान सरकारले पुनर्जागरणको युग शुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताए ।

बास्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग गरे । “खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्वमन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौँ, त्यसो भए सबैको बैंक खाता हेरौँ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *