नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छनौट नगर्न प्रधानमन्त्रीको आग्रह

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएका छन् । नेकपाको केपी ओली समूहद्वारा शनिबार चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताएका हुन् ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उनले भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो ।

देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उनले भने, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले भने “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्काे सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उनको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए ।

नेकपा नफुटेको भन्दै उनले केही मान्छे बाहिरिएको बताए । उनले भने “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उनले भने, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।” विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उनले बताए ।

अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उनले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले भने, “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।” उनले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *